"म ई. श्री राम न्यौपाने, विगत तीन दशकदेखि नेपालको इन्जिनियरिङ, पूर्वाधार विकास र प्राज्ञिक क्षेत्रमा निरन्तर क्रियाशील छु। मेरो जीवनको हरेक पाइला प्राविधिक उत्कृष्टतामार्फत देशको विकासमा इँटा थप्ने उद्देश्यले अभिप्रेरित छ।"
मेरो शैक्षिक यात्रा गोरखाको लुटेलस्थित अमर ज्योति जनता माध्यमिक विद्यालयबाट सुरु भएको हो, जहाँबाट मैले सन् १९८५ मा माध्यमिक शिक्षा (SLC) पूरा गरेँ। इन्जिनियरिङप्रतिको मेरो रुचि र लगावका कारण मैले पश्चिमाञ्चल क्याम्पस, पोखराबाट सन् १९९२ मा सिभिल इन्जिनियरिङमा इन्टरमिडियट र पुल्चोक क्याम्पस (IOE) बाट सन् १९९५ मा स्नातक तह (BE) उत्तीर्ण गरेँ। ज्ञानको खोजीमा म सधैं अगाडि बढिरहें र अन्ततः सन् २००४ मा जलस्रोत इन्जिनियरिङमा पुल्चोक क्याम्पसबाटै 'डिस्ट्रिङ्सन' सहित स्नातकोत्तर (MSc) पूरा गरेँ।
मैले सन् १९९५ मा नेपाल सरकारको खानेपानी तथा ढल निकास विभागमा सहायक इन्जिनियरको रूपमा तनहुँबाट आफ्नो व्यावसायिक करियर सुरु गरेँ। केही समय सरकारी सेवामा रहेपछि मेरो रुचि प्राज्ञिक क्षेत्रतर्फ मोडियो। मैले पश्चिमाञ्चल क्याम्पस र काठमाडौं इन्जिनियरिङ कलेजमा प्राध्यापन गरेँ।
शिक्षा क्षेत्रमा केही नवीन काम गर्ने सोचका साथ मैले एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (ACEM) को स्थापना गरेँ, जहाँ सन् २००० देखि २००७ सम्म संस्थापक प्रिन्सिपल र निर्देशकको रूपमा रहेर हजारौं दक्ष इन्जिनियरहरू उत्पादन गर्ने अवसर प्राप्त गरेँ।
मेरो व्यावसायिक जीवनको एउटा महत्वपूर्ण पाटो नेपालको सुरुणमार्ग (Tunnel) र जलविद्युत क्षेत्रको विकास हो। सन् २००८ देखि म मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चरको कार्यकारी अध्यक्षको रूपमा कार्यरत छु।
इन्जिनियरिङ पेशालाई थप मर्यादित बनाउन मैले नेपाल इन्जिनियरिङ काउन्सिल (NEC) मा निर्वाचित र मनोनित बोर्ड सदस्यका रूपमा दुई कार्यकाल सेवा गरेँ। साथै, नेपाल इन्जिनियर्स एशोसिएशनको कोषाध्यक्ष र कार्यकारी सदस्य भएर पेशागत हकहितका लागि काम गरेँ।
मैले सन् २००७-२००८ मा नेपाल सरकारको द्वन्द्व प्रभावित पूर्वाधारहरूको तथ्याङ्क संकलन कार्यदलमा रहेर नीतिगत तहमा समेत योगदान पुऱ्याउने अवसर पाएँ।
म सधैं नयाँ प्रविधिको खोजीमा रहन्छु। परम्परागत प्रविधिलाई आधुनिकीकरण गर्ने क्रममा मैले "सोलार जाँतो" को विकास र प्रदर्शन गरेँ। यस्तै, भिरालो जमिनमा पहिरो नियन्त्रणका लागि स्थानीय घाँसका जराहरूको शक्तिबारे मेरो अनुसन्धान र विभिन्न लेखहरू प्रकाशित भएका छन्।
राष्ट्रको विकासमा पुऱ्याएको योगदानको कदर गर्दै मलाई २०७८ सालको संविधान दिवसमा सम्माननीय राष्ट्रपतिज्यूबाट "प्रबल जनसेवाश्री" मानपदवी प्रदान गरियो। यसका अतिरिक्त विभिन्न समयमा प्रधानमन्त्री र मन्त्रीज्यूहरूबाट प्राप्त सम्मानले मलाई देश सेवामा थप ऊर्जा प्रदान गरेको छ।